गण्डकी प्रदेश

साँझ आएको भीषण हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

४ वैशाख, दमौली । आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।
हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ ।
हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ । घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताए । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ । “वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उनले भने । जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल

स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले दुई वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । व्यास नगरपालिका–१० र ११ को भ¥याङ्दी जोड्ने खोलामा चालु आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो ।
दश मिटर लामो उक्त पुल निर्माणका लागि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु १० लाख बजेट विनियोजन गरेकधा थिए । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी एक किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको आज उद्घाटन गर्दै सांसद श्रेष्ठले थोरै बजेटमा पनि राम्रो पुल निर्माण सम्पन्न भएको बताए । पुल निर्माण समितिका अध्यक्ष गम्बरसिंह गुरुङले उपभोक्ता समितिले बोलपत्र प्रक्रियाबिना नै उपभोक्ताको प्रत्यक्ष निगरानी र संलग्नतामा समयमै काम सम्पन्न गरेको बताए ।

अर्बुदरोगपीडित उपचारका लागि पोर्चुगलबाट सहयोग

अर्बुदरोगपीडित तनहुँको व्यास नगरपालिका–४ का विकास दरैको उपचारका लागि दमौली युथ पोर्चुगलले आर्थिक सहयोग गरेको छ । दमौली घर भई हाल पोर्चुगलमा रहेका युवाहरुले गठन गरेको संस्थाले विकासको उपचारका लागि रु ८१ हजार ५०० सहयोग गरेको हो ।
उक्त रकम विकास मगर र खेमराज गुरुङले अर्बुदरोगपीडित विकासका आमा तिलीमाया दरैलाई हस्तान्तरण गरेका छन् । विकासको उपचारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले पोर्चुगलमा रकम सङ्कलन गरिएको बताइएको छ । पीडितका आमा दरैले छोराको उपचारका लागि सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
अर्बुदरोगपीडित दरैको उपचारका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिको पहलमा रकम सङ्कलन भइरहेको छ । केही दिनअघि मात्रै दमौली निवासी किरण श्रेष्ठको सक्रियतामा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानबाट रु पाँच लाख ३३ हजार ८२१ सहयोग उठेको थियो । विगत केही वर्षदेखि दरै अर्बुदरोगबाट पीडित भएर भारतमा उपचाररत छन्। आन्द्रामा अर्बुदरोग भएका दरै जीवन र मरणको दोसाँधमा छन्। फोटोग्राफीमा रुचि राख्ने उनी देशका विभिन्न ठाउँमा पुगेर तस्विर खिच्ने गर्थे ।