खेलकुद

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

४ वैशाख, काठमाडौँ । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेले । उनले ४६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ६२ रनको योगदान दिए । यस्तै आशिफ शेखले अविजित ५४ रन बनाए । उहाँले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए ।
बलिङतर्फ नेदरल्याण्ड्सका जुलियन डे मेइले एक विकेट लिए । यसअघि नेदरल्याण्डस्का लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाएका थिए । यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सिलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रन बनाएका थिए । नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।
सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काएका थिए । । नेदरल्यान्ड्सको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले बेन कोपरलाई बिना कुनै रन पेभेलियन फर्काएका थिए । खेलको १४औँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका इड्वार्डलाई साहब आलमले मैदान बाहिर पठाए । खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिए । लामिछानेले चार ओभर बलिङ गर्दै २२ रन खर्चिए । यस्तै कामीले चार ओभरमा मात्र १३ रन खर्चिए । करण केसीले चार ओभरमा २२ रन खर्चिए भने अभिनाष बोहराले चार ओभरमा २५ रन खर्चिए पनि विकेट लिन सकेनन्।

डेब्यूमै कुशलको अर्धशतक
नेपाली युवा खेलाडी कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै अर्धशतक बनाएका छन् । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरूद्ध खेल्दै भुर्तेलले ३० बलको सामना गर्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । चौबीस वर्षीय भुर्तेललाई आजको खेलमै डेब्यू गरेका आशिफ शेखले राम्रो साथ दिएका थिए ।

शेख दाजुभाइले राष्ट्रिय टोलीबाट एकसाथ खेले
नेदरल्याण्डस्विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफ शेख र आसिफ शेखले नेपालको राष्ट्रिय टोलीबाट एकसाथ खेलेका छन् । दुवै जना दाजुभाइ हुन् । एकदिवसीय प्रतियोगितामा भने दुवै जनाले यसअघि पनि एकसाथ खेलेका थिए । आरिफ दाजु तथा आरिफ भाइ छन् ।
आसिफले आजको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् । टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट दाजुभाइले एकसाथ खेलेको यो पहिलोपटक हो । २३ वर्षीय आरिफले सन् २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उमेर समूहमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका २० वर्षीय आसिफले राष्ट्रिय टोलीमा स्थान बनाउन लामो समय कुर्नुपरेको थियो । दुवै जना पर्साको वीरगञ्ज निवासी छन् । आजको खेलमा आशिफले अविजित ५४ रन बनाए । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गरे ।
नेपालले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारीलाई घरेलु मैदानमा उतारेको थियो । चोटका कारण कप्तान पारस खड्का भने मैदान बाहिर रहे ।