राजनीति

ओलीको राजीनामापछि कांग्रेस नेतृत्वमा सरकार बन्छः नेता प्रकाशमान

३ बैसाख, वालिङ, स्याङ्जा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद निष्कृय पार्न खोजेको आरोप लगाए।
उनले भने ‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ । संसदलाई बिजनेस नदिदा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था सिर्जना भईसक्यो ।’
साथै नेपाली कांग्रेसले अस्थीर राजनैतिक अवस्थाबाट निकास दिन पहल कदमी सुरु गरेको उनले स्पष्ट पारे । ‘ओलीले तत्काल राजीनामा दिनु पर्छ । र कांग्रेसको नेतृत्वमा सरकार चाहिन्छ ।’ भन्दै उनले भने ,‘आफ्नै पार्टीको अन्तर झगडाको कारणले गर्दा संसद भङ्ग गर्ने गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाईसकेका छन् । ओलीलाई प्रधानमन्त्री भईरहने वैधानिकता छैन् ।’
नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेको समेत बताए । लोकतन्त्र जोगाउनको लागी आफुहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई भेटेरै देशलाई संकट परेको बेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको जानकारी समेत दिए ।
कांग्रेस कम्जोर भएको मौकामा ओलीले देशलाई नै कम्जोर बनाएको भन्दै नेता सिंहले भने ‘देशमा कम्युनिष्टहरु असफल भईसके, यीनीहरुले न संबिधान नै जारी गर्न सकेका हुन, न त संविधान कार्यन्वयनमा नै सफल हुन सके ।’
फरक प्रसङ्गमा नेता सिंहले कांग्रेसमा सक्षम नेतृत्वको आवश्यकता भएको बताए । नेतृत्वको कारणले गर्दा कांग्रेस ईतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाई छ । नेपाली कांग्रेसको सिद्धान्त, देशको आवश्यकता र परिस्थीति बुझेर कार्य गर्न सक्ने नेतृत्व १४ औँ महाधिबेशनबाट चुन्नु पर्ने उनले बताए ।
सिंहले प्रजातन्त्र र लोकतन्त्रका लागी संघर्ष गर्ने कांग्रेसका पुर्व नेताहरुलाई स्मरण गर्दै अहिलेको नेतृत्वले उहाँहरुबाट सिक्नु पर्ने बताए ।