पु.समाचार

सेनाका प्रत्येक जवानले स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील बनाउन अपरिहार्य

२ वैशाख, काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डामा तेस्रो आचार संहिता सप्ताह शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले आज आयोजित एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राखेको बताए ।

उनले भने, “सेना जनताको विश्वासको केन्द्रविन्दु बन्न सफल भएको छ, यसको श्रेय अनवरत निश्वार्थ सेवा गर्ने भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जान्छ ।” सेनामा कार्यरत सकलदर्जाले आफू पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो ।

प्रत्येक जवानले स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील बनाउन अपरिहार्य रहेको जनाउँदै बलाधिकृत शर्माले सकलदर्जाले आचरण मर्यादित र नैतिकवान बनाउन प्रेरणा मिल्ने धारणा व्यक्त गरे । उक्त सप्ताह यही वैशाख ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मानवीय आचरण र मूल्य मान्यता सम्बन्धमा स्वामी पुरुषोत्तमले अभिप्रेरणात्मक प्रवचन भएको उक्त कार्यक्रम शुभारम्भका अवसरमा सैनिक आचार संहितासम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिएको जानकारी दिइयो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा विधि र पद्धति स्थापित गर्ने हेतुले प्रत्येक वर्ष यस खाले कार्यक्रम गर्ने सोचका साथ तीन वर्षअघि उक्त कार्यक्रमको थालनी गरेका हुन् ।