पु.समाचार

सात दिनमा ३६६ सङ्क्रमित थपिएको बाँकेमा एकै दिनमा १२३ जनामा सङ्क्रमण पुष्टि

२ वैशाख, राँझा । कोरोना भाइरस–१९ को शुरुआतमै गत वर्ष केन्द्रबिन्दु बनेको बाँकेमा अहिले सङ्क्रमण बल्झिएको छ । बितेको सात दिनमा ३६६ सङ्क्रमित थपिएको बाँकेमा बुधबारको परीक्षणमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उहाँका अनुसार, गत वर्ष कोरोना महामारीले सताएको बाँकेमा यतिबेला महामारी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा समस्या बल्झिएको हो ।

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमण दर अस्वभाविकरुपमा बढेपनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण बाँके कोरोना सङ्क्रमणको केन्द्रबन्दिु बनेको छ । दैनिक सय बढी सङ्क्रमित थपिने बाँकेमा कोरोना भाइरस सङ्क्रमणप्रतिको सतर्कता र स्वास्थ्य मापदण्डलाई ख्याल नगरी नागरिकको भीडभाड सामान्य अवस्थामा जस्तै हुने गरेको छ ।

तरकारी, फलफूल बजार र दैनिक उपभोग्य सामग्री किनमेल हुने पसलमा मास्क, सेनिटाइजर प्रयोग नगरी सर्वसाधारणको भीडभाड हुने गरेको छ । विद्यालयले पनि मापदण्ड पूरा नगरी पठनपाठन सञ्चालन गरिरहेका छन् । सभासम्मेलन, उत्सव र फनपार्कमा नागरिकको भीभाडमा उस्तै छ जसका कारण बालबालिका, किशोरकिशोरी र युवामा बढी सङ्क्रमण देखिएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

छैन तयारी

बाँकेमा कोरोना भाइरस महामारीको सङ्क्रमण तीव्र गतिमा बढे पनि यसको रोकथाम र सङ्क्रमण फैलिन नदिन गरिनुपर्ने पूर्व तयारी र सतर्कता हुन सकेको छैन ।

गत वर्ष नेपालगञ्जस्थित भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर र खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर व्यवस्था गरेका थिए । तीबाहेक गाउँपालिकाले आइसोलेशन बनाए । अहिले भेरी अस्पतालको आइसोलेशनबाहेक अरु कुनै आइसोलेशन सञ्चालनमा छैनन् ।

विगतमा विद्यालयलाई नै क्वारेन्टिन र आइसोलेशन सेन्टर बनाइएको हो । तर अहिले विद्यालय सञ्चालनमा भएकाले त्यो सम्भव नभएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । आइसोलेशन र क्वारेन्टिन सञ्चालनका लागि ठोस निर्णय भई नसकेको जानकारी दिँदै अध्यक्ष कक्षपतिले भने, “खजुराका मात्रै विद्यालय बन्द गरेर क्वारेन्टिन र आइसोलेशन बनाउनमा अन्योल भइरहेको छ, जिल्लास्तरीय निर्णय भएमा सजिलो हुनेछ । यसमा सबै पक्ष जिम्मेवार हुन जरुरी छ ।”

भेरीमा अस्तव्यस्त

दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोभिड वार्ड अस्तव्यस्त बन्न पुगेको छ ।

कोरोना सङ्क्रमितका लागि १४२ श्यया व्यवस्थापन गरिए पनि जनशक्ति अभावका कारण ६५ श्यया सञ्चालनमा छन् । बिरामी जबर्जस्ती आइसोलेशनमा पस्न थालेपछि चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै सुरक्षा जोखिम बढेको छ ।

भेरी अस्पतालको कोभिड वार्डका सबै श्यया भरिभराउ छन् । बिरामी जबर्जस्त आइसोलेशनमा छिरेका छन् । भेरी अस्पतालमा कोभिड बिरामीको उपचारमा खटिनुभएका डा पारस पाण्डेले पहिलेकोभन्दा अवस्था भयाबह भएको जनाउँदै अस्पतालले थप एक जना पनि बिरामी भर्ना गर्न नसक्ने बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले हालको जनशक्तिले थप श्यया सञ्चालन गर्न नसकिने बताउनुभयो । अब आउनेले श्यया नपाउने बताउँदै उहाँले श्यया भए पनि जनशक्ति नभएकाले थप सङ्क्रमितलाई भर्ना गर्न नसकिने बताउनुभयो । प्रदेश सरकारले भेरीलाई चिकित्सकसहित ४२ जना जनशक्ति दिएको छ ।

प्रदेश सरकारले दिएको जनशक्तिले ६५ जनाभन्दा धेरै बिरामी हेर्न सक्ने अवस्था नरहेको भनाइ छ । उनका अनुसार, अब छुट्टै आइसोलेशन सेन्टर नभए भयाबह स्थिति आउने निश्चित छ । करीब शुन्यमा झरेको सक्रिय सङ्क्रमित बढेर अहिले ३०० बढी पुगिसकेको छ । दुई सय ५३ होम आइसोलेशनमा छन् । भेरी अस्पतालमा ७४ भर्ना भएका छन् तीमध्ये २७ जनाको अवस्था गम्भीर छ । सातलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने १४ जना सघन उपचार कक्षमा छन् । तीन जनालाई ‘हाइफ्लो’ अक्सिजनमा राखिएको छ ।

“पालिकालाई क्वारेन्टिन र आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्न, भारतबाट आएकालाई १० दिन अनिवार्य क्वारेन्टिन राख्न भनेका छौँ”, स्रोत व्यक्ति वलीलेले भने, “पालिकाले तयारी भए नभएकाबारे कुनै जानकारी दिएका छैनन् ।”

आजमात्रै कार्यभार सम्हालृका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताए । “म आज मात्रै जिल्लामा आएको छु, आज नै नेपालगञ्ज उपमहानगरपालिका सङ्क्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ”, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो,“भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेशन र क्वारेन्टिन सञ्चालनका विषयमा निर्णय हुनेछ ।”

स्वास्थ्यमा समस्या आएपछि बुधबार कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका बाँकेका एक जनाको गएराति मृत्यु भएको छ । शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा खजुरा गाउँपालिका– २ सीतापुरका ४२ वर्षीय पुरुषको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए । उनका अनुसार योसँगै बाँके जिल्लाका ५९ जनाको हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।