पु.समाचार

प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त, रहनु नपरेकोमा खुशी छौं–सुबेदी

२ वैशाख, काठमाडौँ । प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको जनाउँदै कारवाही गरेको हो ।
बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको तथा आजको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन गरेको छ । यस्तै जिल्लास्तरमा गरिनुपर्ने कारवाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिएको छ ।
सुबेदीको प्रतिकृया, ‘सुनियो, प्रेस चौतारीको उपाध्यक्षबाट म, नरेन्द्र साउद, महासचिवबाट राजेश राई पदबाट निष्काशनमा परेका छौं ।रामकुमार एलन, शुरोजंग पाण्डे र अमृत तिम्सिनासहिताका साथीलाई सचिवालय बैठकमा नआए कारवाही हुने भनिएको छ रे । हामी स्पष्ट छौं, हाम्रो लडाइँ केपी ओलीको प्रतिगमन विरुद्ध हो । यो लडाइँमा हामीसँग गुमाउनुबाहेकका प्राप्ति केही छैन । यिनीहरूले हामीलाई फासीको फन्दामा चढाउछन् भने पनि हासी हासी तख्तामा चढ्न तयार छौं । यस्ता कारवाही रुपी धम्कीले हाम्रो केही सकिँदैन । बरु, प्रतिगामीका एजेण्टहरु सँग रहनु नपरेकोमा हामी खुशी छौं । कारवाही गर्ने ‘दुःखी आत्मा’ हरु, तिमीहरूको पतन निश्चित छ ।’