साहित्य

नयाँ बर्ष आउँछ

-डा सुरेन्द्र सिटौला                                     -कविता

जव,
फुल मगमगाउँछ
धरती जगमगाउँछ
पुतली फर फराउँछ
गुराँस मुस्कुराउँछ
कोयली मीठो गीत गाउँछ
अनि पो त !
नयाँ बर्ष आउँछ
जब,
पटठो अभिमानलाई
दुधमुखे स्वाभिमानले हराउँछ
सत्कर्मको यज्ञमा
बर्तमान रमाउँछ
सुधामाको झुपडीमा
कुबेरी सुख आउँछ
न्यायको चिताग्नीले
अन्याय जलाउँछ
अनि पो त
नया बर्ष आउँछ
जब,
नेताले आफू हारेर
देश जिताउँछ
देशले
गरिबीको कात्रो मिल्काउछ
समयले
मुक्तिको चिराग समाउँछ
भबिष्य
निर्धक्क सँग रमाउछ
अनि पो त
नयाँ बर्ष आउँछ
जब,
‘म’ हराएर
‘हामी’ मुस्कुराउछ
निष्काम कर्मले
आसुरी यज्ञ निभाउछ
अहम ब्रम्हाष्मी भन्दै
चेतनाले गीत गाउछ
आत्मा
निरन्तर यात्रामा रमाउछ
अनि पो त
नया बर्ष आउँछ ।