पु.समाचार

समाचार लेख्दा पत्रकारमाथी ठेकेदारको आक्रमण भएको भन्दै प्रेस युनियनद्वारा कारबाही माग

३१ चैत्र, काठमाडौं । समाचार लेख्दा पत्रकारमाथी ठेकेदारको आक्रमण भएको भन्दै प्रेस युनियनले सरकारसंग कारबाहीको माग गरेको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधिन काठमाडौं भ्यूटावरका ठेकेदारसहितको टोलीले भोतिक आक्रमण गरी सञ्चार सामग्री तोडफोड गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण लगायतको बिषयमा २०७७ चैत्र ३० गते रिर्पोटिङ गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरि सञ्चार सामग्री समेत खोसेर तोडफोड गरिएकोप्रति युनियनले खेद प्रकट समेत गरेको छ ।

ठेकेदार मनोज भेटवालका सुपरभाईजर ज्ञान वहादुर रायले गुरागाईँलाई ज्यान मार्ने धम्की समेत दिएको घटनाले युनियनलाई थप आक्रोशित बनेको छ ।

आम नागरिकका चासोका बिषयमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने संचारकर्मीहरु कसरी प्रताडित छन् भन्ने यो घटनाले देखाएको समेत युनियनको बुझाई छ ।

युनियनले संचारकर्मी गुरागाईँमाथि आक्रमण गरि संचारसामग्री तोडफोड गर्ने मनोज भेटवाल सहितका दोषीहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन प्रहरीको गम्भीर रुपमा ध्यानाकर्षण गराएको छ । साथै श्रमजिवी पत्रकारको क्षती गरिएका सञ्चार उपकरणको उचित क्षतिपूर्ती दिलाउन पनि युनियन माग गरेको छ ।

युनियनले सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्न समेत युनियन सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

पत्रकारमाथि भएको यस्ता आपराधिक घट्नामा संलग्नलाई प्रशासनिक कारवाही गरि क्षतिपूर्तीको ब्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।