पत्रपत्रिका

तत्काल बिद्यालय बन्द नगर्ने मन्त्रीपरिषदको निर्णय

school-1_closed till up-nirwacahn

३१ चैत्र, काठमाडौं । कोरोना संक्रमण बढे पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ  ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले भने केही साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको छ । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए  ।

पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिका धेरै प्रभावित भइरहेका छन् । तर, विद्यालय तथा कलेजले सतर्कता अपनाउनुको सट्टा लापरबाहीसमेत गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार संक्रमण देखिएका पाँच सय ५९ मध्ये २४ जना १८ वर्षमुनिका छन् । आइतबार यो उमेर समूहका २७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा दुई सय ८० बालबालिकामा संक्रमण देखिएको छ । सोमबार संक्रमण देखिएका बालबालिकामा सबैभन्दा कम उमेर पाँच वर्षका एकजना र सबैभन्दा बढी १७ वर्ष उमेरका पाँचजना छन् ।

त्यस्तै, २८ चैतमा ५२ बालिबालिकामा, २७ चैतमा ३४, २६ चैतमा ५१, २५ चैतमा २५, २४ चैतमा २६, २३ चैतमा १६, २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार नयाँ भेरियन्टबाट बालबालिका धेरै प्रभावित भएका छन् ।

रेन्डम नमुना छनोट गर्दा काठमाडौंमा २० प्रतिशत बालबालिकामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, २० वर्षमुनिका १६ प्रतिशतमा नयाँ भेरियन्ट देखिएको छ । केही दिनअघि पोखरामा गरेको नमुना परीक्षणमा १० देखि २० वर्ष उमेर समूहका ५० प्रतिशतमा नयाँ भेरियन्ट देखिएको थियो ।

शिक्षण संस्थाहरू संक्रमणको हटस्पट बन्दै गए पनि विद्यालयले नियन्त्रणमा लापरबाही गरिरहेका छन् । कतिपय विद्यालयले विद्यार्थीमा संक्रमण देखिए पनि विद्यालय बन्द नगरी सम्बन्धित सेक्सन मात्रै बन्द गरेका छन्  । कतिपयले विद्यार्थी संक्रमित भएको लुकाएका छन्  ।

यसअघि नेपाली सेनाको विद्यालय, हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले विद्यार्थी र कर्मचारीमा संक्रमण भएपछि भौतिक कक्षा बन्द गरेर अनलाइन पठनपाठन सुरु गरेका थिए  । तर, पछिल्लो समय ललितपुर र काठमाडौंका धेरै विद्यार्थी भएका विद्यालयले विद्यार्थीमा संक्रमण पुष्टि हुँदासमेत पठनपाठन जारी राखेका छन् ।

                                                                नयाँ पत्रिकाबाट लिएको