साहित्य

माफ गर नयाँ बर्ष

-गुरुराज घिमिरे                                                     -रचना
“माफ गर, नयाँ बर्ष!”
कृपया माफ गर
यसपटक म तिमीलाई
सदा झैं
स्वागत गर्न सक्तिनँ
किनकी नयाँ बर्षको नाममा
समयले मेरो अस्तित्व माथि
असंख्य प्रश्न गर्यो
आदिम युगदेखि
वर्तमानसम्म निरन्तर
जसोतसो जोगाएको
मेरो सभ्यता माथि
अनगिन्ति प्रहार गर्यो
पदार्थ र आकाशको संयोजन
समयको अस्तित्व
पदार्थ,आकाश र समयको परिणाम
ब्रम्हाण्डको अस्तित्व
यही अस्तित्वको सुक्ष्म रुप म
अर्थात् मानव जाति
सघन अनन्त बिन्दुको
भयानक बिस्फोट
ब्रह्माण्डको उत्पत्ति
फगत एक बिन्दु
इश्वरको रचना
बिज्ञानको अस्विकृती
किन्तु मेरो ब्रम्हज्ञान
तिमी भन्दा धेरै जेठो
त्यसैले नयाँ बर्षको रुपमा
मलाई जिस्क्याउन आइपुग्ने
तिमी समय!
मेरो अस्तित्वलाई ललकार्न खोज्ने
वलात् धावा बोल्ने घरिघरि
सधैं आक्रामक मप्रति
नियतै खोटो तिम्रो
त्यसैले जे सक्छौ गरे हुन्छ
जे नाप्छौ नापे हुन्छ
यसपटक कदाचित म तिमीलाई
किमार्थ अंकमाल गर्दिन
तिम्रो नाममा खुशी मनाउन्न
तिम्रा खातिर भोज पनि लगाउन्न
थाहा छ! नयाँ बर्ष हौ तिमी
समयको प्रतिरुप
कालको गणना
मलाई आफ्नो बाहुपासमा बेरेर
फनफनी औंलामा नचाउने
शकुनी हौ तिमी
अनि व्योमबाट अट्टहास गर्ने
निर्दयी बाज हौ तिमी
प्यासिफिक देखि एटलान्टिक सम्म
आर्कटिक देखि हिन्द सम्म
बिस्तारित मेरो अस्तित्व माथि
कुदृष्टि फ्याँक्ने
निर्मोही हुँडार
र जन्मजात बैरी हौ तिमी
थाहा छ तिमीलाई?
ब्रह्माण्डको अनन्त यात्रामा
एलियन र मेरो भेट हुन सक्छ
अनि गरौंला हामी
तिम्रो मृत्यु पुजा
त्यतिबेलै तिम्रो दुष्कर्मको
हरहिसाब खोजौंला
तिमिले हुर्काएको विषवृक्ष ढाल्न
मेरो अस्तित्वमा अवतरित
ब्रम्हाण्डको आराध्य हुँ म
त्यसैले माफ गर! तिम्रो आगमनमा
कदापि हाँस्न सक्तिनँ
म आफै बोधीबृक्ष
त्यसैले तिमी हिड्ने पदचापहरु
पछ्याउन सक्तिनँ म
मेरो जम्लाहात छ समय तिमीलाई
नयाँ बर्षको रुपमा
धेरै नफुर्किनु यसपटक
तिम्रो स्वागत गर्न सक्तिनँ!!
(नोटः पोहोर कै कविता यसबर्ष पनि सान्दर्भिक लाग्यो १ भन्दै सामाजिक सञ्जाल फेसबुकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पोष्ट गरेको रचना हामीलाई पनि सान्दर्भिक लागेर पोष्ट गरेका हौंं ।)