उर्जा

रेराको दोस्रो चरण कार्यान्वयनमा

काठमाडौँ, २८ चैत । आधुनिक ऊर्जाको सेवा नपाएका वा सेवामा थोरै पहुँच भएका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम ९रेरा० को दोस्रो चरण कार्यान्वयनमा आएको छ ।

नेपाल सरकार र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय ९बिएमजेड० को संयुक्त प्राविधिक सहयोगमा सञ्चालित सो कार्यक्रमको दोस्रो चरण अप्रिल २०२३ सम्म कार्यान्वयन हुनेछ । दोस्रो चरणको कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतापत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र जिआइजेडका राष्ट्रिय निर्देशक डा एलके इल्के फोस्टरले हस्ताक्षर गरेका थिए ।

केन्द्र र जर्मनीको जिआइजेडले संयुक्तरुपमा कार्यान्वयन गरिएको यस कार्यक्रम अक्टोबर २०१६ देखि सेप्टेम्बर २०१९ सम्म नमूनाको रुपमा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका १४ वटा पालिकामा कार्यान्वयनमा आएमा यसको प्रभावकारिताका आधारमा दोस्रो चरणमा ती दुई प्रदेशका नवीकरणीय ऊर्जा प्रविधिको सम्भावना रहेका सबै पालिकामा विस्तार गरिएको केन्द्रका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

नवीकरणीय ऊर्जा क्षेत्रमा सङ्घीयता कार्यान्वयनको रुपमा पहिलो कार्यक्रमको रुपमा रहेको यो कार्यक्रमको सफल कार्यान्वयनपछि दोस्रो चरणमा दुबै प्रदेशका राष्ट्रिय प्रशारण पुग्न नसकेका पालिकाहरुमा ऊर्जाको पहुँच विस्तार गरी आर्थिक विकासमा जोड दिइने उनको भनाइ छ ।

कार्यक्रमको पहिलो चरणमा १४ वटा गाउँपालिका तथा नगरपालिकामा नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन र सहजीकरणबाट १७ हजार ५०० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस अवधिमा १६८ घरेलु वायोग्यास प्लान्ट, ९०३ सौर्य घरेलु प्रणाली, ३७ वटा विद्यालय र स्वास्थ्य चौकीमा संस्थागत सौर्य प्रणाली, एक हजार ९८६ घरमा सुधारिएको चुलो, १६० सौर्य सडक बत्ती, सातवटा सोलार वाटर पम्पबाट खानेपानी तथा सिँचाइ योजना, पाँचवटा सुधारिएको घट्ट, तीनवटा कृषिजन्य वस्तुको प्रशोधन उपकरण र दुईवटा लघुजलविद्युत् आयोजनाको पुनःनिर्माण गरिएको थियो ।

कार्यक्रम कार्यान्वयनपछि प्रदेश र स्थानीय सरकारहरु नवीकरणीय ऊर्जाको प्रभावकारी विकास, प्रवद्र्धन र कार्यान्वयन गर्न सक्षम भएका छन् । आधुनिक तथा गुणस्तरीय ऊर्जा सेवाको पहुँचमा अधिकतम नागरिकको सहभागितामा वृद्धि भएको छ ।

ऊर्जासँग सम्बन्धित उद्यम/उद्यमी र नागरिकहरुको लागि वित्तीय सेवाको पहुँच, ऊर्जा सेवा र वस्तु बजारीकरणमा सुदृढीकरण र निजी क्षेत्रको क्रियाकलापमा विस्तार भएको छ भने महिला तथा पिछडिएका वर्गहरुको योजना तर्जुमा, निर्णय प्रक्रियामा सहभागिता वृद्धि भई ऊर्जा कार्यक्रम र ऊर्जा सेवाबाट समान लाभ प्राप्त गर्न थालेको कार्यक्रममा उपप्रमुख प्राविधिक सल्लाहकार विनोदप्रसाद श्रेष्ठले बताए ।

रेराले प्रदेश र स्थानीय सरकारलाई नवीकरणीय ऊर्जा कार्यक्रमको नयाँ संरचना अनुसार संस्थागत सुदृढीकरण गर्न र नवीकरणीय ऊर्जाको लागि उन्नत र प्रभावकारी सहयोगमा जोड दिएको छ । रेराले स्थानीय लघु, साना तथा मझौला उद्योगहरुको व्यवसाय सुधारका साथै यसका सेवा प्रदायकहरुको बिक्रीपछिको सेवा सुनिश्चितताको लागि सहयोग गरेको छ ।

कोरोना सङ्क्रमणले गर्दा विकास निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा केही समस्या आएपनि भर्चियुल माध्यमबाट स्थानीय पालिकाहरुसँग समन्वय गरी विभिन्न चरणमा छलफल र अन्तरक्रियालाई निरन्तरता दिएका कारण धेरै लक्षित कार्यक्रमहरु सम्पन्न भएको उनले बताए ।