प्रवास

ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख

दोहा २८ चैत्र । ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो ।

‘ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको हो, साथै प्रतियोगिताका विजेताहरूले प्राप्त गर्ने पुरस्कार रकम पनि वृद्धि गरिएको छ,’ रेग्मीले भने ।

ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए । यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।

ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् ।

‘प्रतियोगितामा विश्वभरिबाट सहभागी गराउनका लागि समयावधि बढाउनु पर्ने अनुरोध आयो, सोही सुझावलाई दृष्टिगत गर्दै समयावधिसहित कार्यक्रमको गरिमालाई थप वृद्धि गर्न मिति परिवर्तनसहित पुरस्कारको राशि बढाइएको हो,’ रेग्मीले भने ।

विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनु पर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले प्रवासमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिताका लागि समय थप गरिएको उल्लेख गरे ।

गुरुङले प्रतियोगीहरूलाई थप गरिएको समयलाई अभ्यास गर्ने अवसरको रुपमा प्रयोग गरी तयारी तीव्र पार्न अनुरोध पनि गरेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष एवं ग्लोबल सिंगिङ आइडलका प्रमुख सल्लाहकार कुमार पन्तले प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।