पु.समाचार

पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि देशैभरी मतदान जारी

२५ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पत्रकारहरुको छाता संगठन महासंघको केन्द्रीय, प्रादेशिक र स्थानीय तहको नेतृत्व छनोटका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान साँझ ४ बजेसम्म चल्ने नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसपटक महासंघको नेतृत्व प्रत्यक्ष प्रणालीमार्फत चयन हुँदैछ ।

यसअघि महासंघको नेतृत्व चयनका लागि पार्षदहरुले मात्रै मत दिन पाउने व्यवस्था थियो । देशभरका १३ हजार १ सय ८० जना पत्रकारले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

यसपटक केन्द्रीय अध्यक्ष पदका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन् । पोखरेल नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (खनाल-नेपाल) समूहसहितका विभिन्न ११ वटा संगठनका तर्फबाट उम्मेदवार बनेका हुन् । त्यस्तै निर्मला शर्मा प्रेस चौतारीण-ओली समूह ) र बुढाथोकी स्वतन्त्र रुपमा अध्यक्षको दौडमा रहेका छन् ।

यस पटकको निर्वाचनमा आ-आफ्नो प्रदेशबाटै केन्द्रीय नेतृत्वलाई मत दिन मिल्ने व्यवस्था गरिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा प्रतिष्ठान सदस्यका लागि विभिन्न १९ वटा मतदान केन्द्र तोकिएको छ । त्यस्तै एसोसियट सदस्यका लागि दशरथ रंगशालामा मतदान केन्द्र तोकिएको छ ।