राजनीति

जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षतिः कांग्रेस नेताहरू

२५ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घले नेता नवीन्द्रराज जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताएका छन् । “नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ”, उनले भने । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताए । “जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो”, उनले भने । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताएका छन् । आँखामा राख्दा नबिझाउने नेता स्व.जोशी भएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताएका छन् । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले स्व.जोशीले दुःखका बेला राजनीति गरेको बताएकी छिन् । नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उनले भनिन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेलले स्व जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताएका छन् ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङगाना, महामन्त्री दीपक भट्टराईलगायतले कांग्रेस र नेविसङ्घलाई बलियो बनाएमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए ।