पत्रपत्रिका

आईएलओको सहयोगमा अपचलन गरेको भन्दै छानबिन

चैत्र २४ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड-१९ प्रभावित राहत तथा उद्धार परियोजनालाई उपलब्ध गराइएको आर्थिक सहयोग अपचलन भएको भन्दै उजुरी परेपछि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ ।

आईएलओले आप्रवासी नेपाली रहेको यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहतका लागि एनआरएनलाई १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले परियोजनाअन्तर्गत यूएईमा केही आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि जेनेभास्थित मुख्यालयले छानबिन गरिरहेको जानकारी दिए ।

गत सेप्टेम्बर पहिलो साता सुरु भएको परियोजनामा एनआरएनको यूएई राष्ट्रिय समितिले गत फेब्रुअरीसम्म गरेको आर्थिक कारोबारमा आशंका देखिएको भन्दै उजुरी परेको हो ।

यो सूचना बाहिर आउनासाथै एनआरएनएको अन्तर्राष्ट्रिय समिति (आईसीसी) ले सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यो समितिले पनि यूएईमा पीडितको उद्धारका नाममा नक्कली बिल राख्नुका साथै खानेकुराको दाम बढाइएको र हवाई टिकट तथा पीसीआर शुल्कमा समेत हिनामिना गरिएको निष्कर्ष निकालेको छ । यूएईमा मात्रै झन्डै २० लाख रुपैयाँको हिनामिना भएको छानबिन समितिले जनाएको छ ।

विदेशी भूमिमा कुनै श्रमिक अलपत्र पर्दा वा उद्धार-समन्वय काममा आईएलओले काम गर्दै आएकामा उसले पहिलो पटक कोभिड महामारीमा पनि यस्तै समन्वयकारी काम गरेको हो ।

आईएलओ नेपाल निर्देशक होवार्डले मानवीय संकट र आप्रवासी नेपालीले बेहोरेको कठिनाइमा राहत-उद्धारका लागि आईएलओले सहयोग गरेको र यसमा एनआरएनएले सहयोग परिचालनको जिम्मेवारी लिएको बताए ।

छानबिनमा कुनै त्रुटि पाइए एनआरएनएलाई जिम्मेवार बनाउने गरी रकम क्षतिपूर्ति वा अन्य कारबाही प्रक्रिया अघि बढ्न सक्ने उनले बताए ।

 

                                                                  कान्तिपुरबाट लिएको