पत्रपत्रिका

२१ करोड ६८ लाखमा बन्दै गएको पुल भत्कियो

२५ चैत्र, काठमाडौं । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको छ  । ८० प्रतिशत निर्माण सकिएको पुल मंगलबार बिहान ४ बजेतिर एकाएक भत्किएको हो  ।

कात्तिक ०७१ मा शिलान्यास गरिएको यो पुल तीन वर्षभित्र निर्माण सम्पन्न गरी १९ कात्तिक ०७४ मा हस्तान्तरण गर्नुपर्ने थियो  । तर, भूकम्प, कोभिड र डिजाइन परिवर्तनको कारण देखाउँदै चारपटक निर्माण अवधि थप गरिएको थियो  ।

अन्तिमपटक थपिएको म्याद पनि आगामी असार मसान्तमा सकिँदै थियो । पुल निर्माण कार्यमा ढिलाइ गरिएको भन्दै स्थानीयले दबाब समिति नै गठन गरेका थिए  । स्थानीय देवेन्द्र पौडेलका अनुसार पछिल्लो समय भने पुलको काम केही तीव्र भएको थियो ।

सुरुमा १६ करोड ५३ लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पुलको ठेक्का पाएको थियो  । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर २१ करोड ६८ लाख पुर्याईएको थियो  । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ  ।

पुलमा ४०-४० मिटरका चारवटा स्पान छन्  । देवघाटतर्फ रहने एउटा स्टिलको स्पान र ठिमुरातर्फका दुईवटा कंक्रिटका स्पान निर्माण भइसकेका थिए  । बीचमा रहने स्पानमा ढलान गर्न बाँकी थियो ।

ढलान भएका दुईवटै स्पान भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विजय दराईले बताए  । उनका अनुसार पुल भत्किएको विषयमा निर्माण कम्पनीसँग पत्राचार भएको छ, कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको छ  ।

सडक विभागले पुल भत्किएको विषयमा अध्ययन गर्न समिति बनाएको डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए  । त्रिशूलीमै बनिरहेको नुवाकोट-धादिङ जोड्ने पुल पनि यसअघि भत्किएको थियो ।

नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुल पनि निर्माण गर्दागर्दै ११ चैत ०७५ मा भत्किएको थियो । त्रिशूली नदीमाथि बनिरहेको यो पुलको सम्झौता असार ०७१ मा भएको थियो भने असार ०७४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो  ।

तर, म्याद सकिएको २१ महिनापछि बनाउन थालिएको थियो । ढलान गर्नुअघि फर्मा राख्ने काम हुँदै गर्दा हुरीले भत्काइदिएको थियो । कांग्रेसका सांसद बहादुरसिंह लामाको कम्पनीले पुल बनाइरहेको थियो  ।

सडक विभागका अनुसार त्यसअघि पनि यस्तै किसमले २-३ वटा पुल भत्किएका घटना भएका छन्  । सुनकोसी पुल र त्रिशूली पुल तनहुँमा पनि यस्ता घटना भएको विभागले जनाएको छ  ।

 

                                                                  नयाँ पत्रिकाबाट लिएको