सुदूरपश्चिम

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी, २४ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् ।

उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री भट्टले भने, “खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज हुने छ, कालोपत्रको काम चाँडै सक्नुस ।

अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताए । उनले भने, “निर्माणको जिम्मा लिने तर समयमै काम नसक्नेलाई कारवाही हुन्छ, कारवाहीमा पर्नु भन्दा काम चाँडो सक्नुस् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रसहित निर्माण भईरहेको उक्त सडक एक वर्ष अगाडि करीब रु ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ ।

खप्तड यहाँको भू-स्वर्गको रुपमा परिचित क्षेत्र रही पर्यटकको प्रमुख रोजाइँको केन्द्र भए पनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा पर्दैआएको छ । खप्तड सडक कालोपत्रसहित निर्माण सम्पन्न भए यहाँ आउने पर्यटकलाई सहज हुनुका साथै आयआर्जनमा पनि सहज हुने खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

उनले भने, “खप्तडका नाममा धेरै राजनीति भयो, अब विकास गर्नुपर्ने बेला आएको छ, सडक सुविधा मात्रै पुर्याउन सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने छ ।”