पर्यटन/संस्कृति

बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल

दमौली, २४ चैत । पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब रु दुई अर्ब लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडि बढ्ने क्रम बढिरहेको छ ।

बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बनेको लगानीकर्ता बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीका पूर्वाधारमा सो केबुलकारले थप प्रवद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक पर्यटकीयस्थलको रुपमा विकसित हुने सो केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन् ।

साहसिकस्थललाई केन्द्रमा राखी सो केबुलकारले आफ्ना सहायक कम्पनीमार्फत अग्लो बन्जी जम्पको निर्माण प्रक्रिया थालेको छ । यस्तै जङ्गल पिङ, एक हजार ८०० मिटर लामो स्पाइडर जीप लाइन, ६०० मिटर लामो भिरमा टुँडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो शिशाको पुलसमेत बनाउने गरी डिपिआर तयार गरिएको छ ।

यस्तै स्काइसाइकिलिङलगायतका मनमोहक मनोरञ्जन पूर्वाधार निर्माण गरी दैनिक पाँच हजारबढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । पाँच वटा सहायक कम्पनीमार्फत थप एक अर्ब लगानी यो क्षेत्रमा गर्ने योजना बनाइएको शर्माले जानकारी दिएका छन् । “हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइक्लिङ सेवासमेत शुरु गरेर गाउँ–गाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ”, शर्माले भने ।

बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेशनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । क्विनटावरबाट फराकिलो कुहिरोको समुद्र देखाउने साथै हिमालय दर्शन गराएर बन्दीपुरको सुन्दरता अनुभव गराउने तयारी छ ।

बन्दीपुरको विकासका लागि आगामी दश वर्षभित्र १० लाख लगानीकर्तामार्फत रु १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । “बन्दीपुर अवधारणा देश र विदेशमा प्रचारप्रसार गर्ने र देश समृद्ध बनाउने कम्पनीको सोच छ”, उनले भने ।

आरकेडी समूहअन्तर्गत रहेको यस कम्पनी समूहमा हाल स्वदेश र विदेशमा गरी तीन हजार सदस्य छन् । यस अभियानलाई साथ दिन केबुलकार परियोजनामा गाउँपालिकाले समेत लगानी गरेर स्थानीय लगानीको प्रवद्र्धनका लागि सचेतना जगाउने कार्य गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । यसले गर्दा स्थानीयवासीसमेत लगानीका लागि आकर्षित हुँदै गएका छन् ।