पु.समाचार

अझै केहिदिन काठमाडौंको वायु प्रदूषण स्थिर रहनेः आज र भोलि उच्च

२४ चैत्र, काठमाडौं । काठमाडौंमा अझै केही दिन वायु प्रदूषण स्थिर रहने भएको छ । कम्तिमा आज र भोलिसम्म काठमाडौंमा वायु प्रदूषण उच्च रहने भएको हो ।

पश्चिमी वायु सक्रिय नभएको र पानी नपरेका कारण वायु प्रदूषण नहटेको मौसमविद् राजु प्रधानाङ्ले बताएका छन् । आज र भोलि अझै काठमाडौंमा वायु प्रदूषण घट्ने अवस्था नभएको उनको भनाई छ ।

यस्तै काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना पनि नदेखिएको उनले बताए । सोमबार जस्तै आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहने छ भने उच्च वायु प्रदूषणका कारण भिजिविलिटी कम हुने छ ।

मौसमविद् प्रधानाङका अनुसार हिजो काठमाडौं विश्वकै प्रदूषित सहरहरुमध्ये एक नम्बरमा परेको थियो । पानी नपरेसम्म यो अवस्था कायम रहने । पश्चिमी वायु पश्चिम नेपालमा केही सक्रिय भए पनि त्यो काठमाडौंसम्म आइपुगेको छैन ।

कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ । डडेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागको भनाइ छ । नेपालभर सयौं स्थानमा डडेलो लागेको र त्यो निन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने प्रवक्ता जोशीको भनाइ छ ।

डडेलो नियन्त्रण तथा वायु प्रदूषण रोक्न स्थानीय निकाय नै सक्रिय हुनुपर्नेमा उनको जोड छ । स्थानीय निकायले निहित स्वार्थका लागि डडेलो लगाउने चलनलाई अन्त्य गर्न जनचेतना जागाउन सक्ने तथा ठुलठूला अग्नी नियन्त्रण रेखा बनाएर डडेलो नियन्त्रण गर्नसक्ने उनको भनाइ छ ।

प्रदूषणबाट बच्न संघीय सरकारलेभन्दा पनि अवस्था हेरेर स्थानीय सरकारले निर्णय गर्नसक्ने विभागको भनाइ छ । गत वर्ष यही समय काठमाडौंमा करिब तीनदशक यताकै सफा मौसम भएको थियो ।