पत्रपत्रिका

८४ वर्षकी आमाको बेवास्ता गरेपछि राष्ट्र बैंकका निर्देशक प्रहरी फन्दामा

२४ चैत्र, काठमाडौं । प्रहरीले ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने सन्तानलाई पनि पक्राउ गर्न सुरु गरेको छ  ।

८४ वर्षकी आमालाई बेवास्ता गर्ने छोरी पक्राउ गरेर प्रहरीले यसको सुरुवात गरेको छ  । छोरीविरुद्ध आमाको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मी छिन् । सुष्मा जाहेरवाला शोभाकी सहोदर छोरी हुन्  ।

भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै आमा शोभाले छोरीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्  । सोही जाहेरीपछि सुष्मालाई सोमबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए का छन् ।

प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि जाहेरवाला शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् । मृतक भूपेन्द्र र जाहेरवाला शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूवर्क झिकेको आरोप छ ।

त्यसबाहेक मृतक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मीले झुक्याएर झिकेको आरोप छ । कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् ।

जाहेरवाला शोभाको नाममा त्यसबोहक पनि विभिन्न कम्पनीमा सेयर थियो  । त्यो पनि छोरी सुष्मा र ज्वाइँ कमलप्रसादले अनधिकृत झिकेका थिए । सोहीअनुसार परेको जाहेरीका आधारमा सुष्मालाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन्  ।

प्रहरीका अनुसार सुष्माविरुद्ध विशेष गरी ज्येष्ठ नागरिक ऐन, २०६३ को धारा आकर्षिक हुन्छ  । ऐनको दफा ४ मा कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइनेछैन भनी उल्लेख छ  ।

सोही दफाको उपदफा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख छ  ।

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था छ  ।

 

                                                                                   नयाँ पत्रिकाबाट लिएको