साहित्य

तिम्रो स्निग्ध आशीर्वाद रहेसम्म, त्यो दिनरातको के कुरा

               -यसोदा कार्की                                                           -रचना

प्रकृतिको निश्चल समीप्यतामा छूनुमुनु गरेको
त्यो दिलको के कूरा।
मन्द मन्द मुस्कान सहित तिमी वरपर हूदा
फराकिलो संसारका सारा खूसी नजिक भएजस्तो लाग्छ
निलो गगन मुन्तिरको कन्चन हिमसृंखलाको के कुरा ।

बिस्तारै मनका भावहरू बाँढ्दै हिँडेको
त्यो बाटोको के कुरा ।
छहारीमा सुस्केरा हालि कोल्टो परि लम्पट हुँदा पनि
मोतीझैं झरेका दानाले देह बेसूरले भिजेको के कुरा
तिम्रो न्यानो साथ रहे सम्म, अनेकन कठिनाइको के कुरा।

मायाको सानो टुक्रा मनभित्र लूकाइ राखेको छ,
त्यो छितिजपारीको के कुरा ।
कर्मले डोर्याएर परिवेश अलग बनाउँदा पनि रमाकैछ मन ।
कैयन सूर्य अस्ताए पनि नव उषाका लागि आतुर हुन्छ झन ।।
तिम्रो स्निग्ध आशीर्वाद रहेसम्म, त्यो दिनरातको के कुरा ।।।

जिजीविषाका ऊर्जाहरूले चेतनालाई आदेश दिँदा
त्यो ठक्करहरूको के कुरा
गन्तब्यका काँडेतारहरू जीवनका सरल अभ्यास बन्छन् ।
अनवरत बाधाका जन्जिरहरू भोगाइका अंशमात्र लाग्छन् ।
तिम्रो अविरल अर्ति रहेसम्म, बन्धनका हतकडीको के कुरा ।