अन्तर्राष्ट्रिय

कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित

२३ चैत, प्रिस्टिना । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित भएको छ । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।

कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त गरेका थिए । संसदका सभामुख गाउलक कोन्जुफ्काले ओस्मानी संसदबाट निर्वाचिन भएको घोषणा गरेका थिए । कोसोभोको संसद १२० सदस्यीय रहेको छ ।

नवनिर्वाचित राष्ट्रपति ओस्मानीले कोसोभोमा कानुनी शासनका लागि आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले कोसोभाका सबै नागरिकका लागि काम गर्ने बताए ।

ओस्मानीलाई प्रधानमन्त्री अल्बिन कुर्तीले पनि समर्थन जनाएको थियो । कोसोभोको संसदमा पूर्व कोसोभो लिबरेसन आर्मी ९केएलए० को बर्चश्व रहँदै आएको छ । केएलएले स्वतन्त्र मुलुक निर्माणका लागि सर्बियाली सैनिकसँग भिषण युद्ध लडेको थियो ।

राष्ट्रपति ओस्मानी र प्रधानमन्त्री कुर्तीले कमजोर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने गम्भीर चुनौती छ । कोसोभाका नागरिकको औसत मासिक ज्याला ६०० डलरभन्दा कम छ भने युवा बेरोजगारी करिब ५० प्रतिशत छ ।

कोसोभाका धेरै युवा कामको खोजीमा स्वीट्जरल्यान्ड र जर्मनीतर्फ पलायन भएका छन् । ओस्मानी र कुर्ती दुबैले चुनावताका बढी न्यायपूर्ण समाज र रोजगारी सिर्जनामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच, सर्बियाले कोसोभोको स्वतन्त्रतालाई अझै मान्यता नदिएका कारण सीमाक्षेत्रमा तनाव साम्य भइसकेको छैन । कोसोभामा सर्बियाली मुलका नागरिकको बसोबास छ, र उनीहरु अल्पमतमा छन् । कोसोभाका राष्ट्रपति हाशिम थाचीमाथि दी हेगस्थित अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधमा मुद्दा चलाएपछि राजीनामा दिएका थिए ।

युरोपेली युनियन र संयुक्तराज्य अमेरिकाले क्षेत्रीय तनाब मत्थर गर्ने उद्देश्यले कोसोभोको नयाँ सरकारमाथि सर्बियासँग वार्ता शुरु गर्न दबाब दिने सम्भावना छ ।