समाचार

आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको १ नम्बर सूचीमा

२३ चैत्र, काठमाडौं । काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ । केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो ।

आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ । जुन स्वास्थ्यका लागि हानिकारक हो ।

यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३ सय भन्दामाथि रहेको छ । काठमाडौंमा अहिले बिहान तुवाँले ढाकेको छ ।

घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिएका छन् ।

यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो । तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ ।

वन तथा भू-संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७ सय भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन् ।