अन्तर्राष्ट्रिय

भारतमा कोरोना कहरः महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू र लकडाउनको घोषणा

२३ चैत्र, एजेन्सी । भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ ।

आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू हुने गरी प्रतिबन्धहरू लगाएका हुन् ।

नयाँ प्रतिबन्धअनुसार अत्यावश्यकबाहेकका सबै पसलहरू अप्रिल अन्तिमसम्ममा बन्द हुनेछन् । रेष्टुरेन्टहरूबाट टेक अवे र होम डेलिभरी सुविधामात्र हुनेछ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइने छ । दिउँसो पाँच जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन ।

सार्वजनिक सवारीमा क्षमताको ५० प्रतिशत यात्रुमात्र बोक्न पाइनेछ । अटो र ट्याक्सीले दुई जनामात्र यात्रु बोक्न सक्नेछन् । सिनेमा हल, जिम, मल, प्ले ग्राउन्ड सबै बन्द हुनेछन्। विद्यालय र क्याम्पसका जाँच भए पनि पढाइ बन्द हुनेछ ।