पु.समाचार

प्रधानमन्त्री ओलीले आज एकैदिन १ सय ६५ निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने

२१ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ १६५ निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले संघीय निर्वाचन क्षेत्रमा एक-एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

बालुवाटारबाट बिहान ११ बजे डिजिटल स्वीच थिचेर प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक निर्माण तय गरिएको हो ।

यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अन्तर्गत भएको जनाइएको छ ।