स्वास्थ्य

सुरक्षित गर्भपतनसम्बन्धी तालिम

२० चैत, डोटी । जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ । जिल्लामा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च ९सिडिएफ०ले उक्त तालिमको आयोजना गरेको हो ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य महिलाको मौलिक’ अधिकार हो भन्ने मूलमन्त्रका साथ किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवासम्बन्धी शिक्षकलाई तीनदिने तालिम शुरु गरिएको सो संस्थाका अध्यक्ष खड्कराज शर्माले जानकारी दिए।

उमेर नपुग्दै विवाह गर्ने चलनका कारण यहाँका किशोरीले सानैमा बच्चा जन्माउने तथा अकालमै ज्यान गुमाउनु परेको जटिल समस्या रहँदै आएको सिडिएफका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए। उनले भने, “जिल्लामा सानै उमेरमा विवाह गर्ने चलन अझै कायमै छ, जसले गर्दा यहाँका किशोरीको अकालैमा ज्यान जाने गरेको छ ।”

किशोरकिशोरीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले बालविवाह गर्नाले पर्ने विभिन्न प्रकारका नकारात्मक असरका बारेमा सचेतीकरणका लागि सहज हुने लक्ष्य लिइएको छ । सानै उमेरमा नै गर्भवती हुनुपर्ने र यसबाट विभिन्न जटिलता भोग्नुपर्ने, उचित शिक्षा तथा आवश्यक सीप सिक्ने तथा वृत्ति विकासका अवसर गुम्नेलगायत समस्या हुने गरेको परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले जानकारी दिए ।

सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो नहुने उनको भनाइ छ । दम्पतीले आफूलाई उपयुक्त हुने परिवार नियोजनका उपाय अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।