पु.समाचार

एमाले नेपाल-खनाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्दै

२० चैत्र, काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बोलाइएको हो ।

एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ ।

उनीहरुले दिएको स्पष्टीकरण चित्तबरझ्दोे नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् । एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए ।

आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।

यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् ।

बिहीबार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका छन् ।

आजको बैठक बसेर थप रणनीति र अभिया सुरु गर्ने खनाल–नेपाल समूहको योजना छ । सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ–आफ्नो कित्तामा फर्किएका छन् ।