कर्णाली प्रदेश

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

सिमकोट, १८ चैत । बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ ।

तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए ।

प्रदूषणको प्रभाव नभएपछि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । नाम्खा गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् ।

कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भएको थियो । यता सोही गाउँपालिका–६ को लिमीका दुईवटा विद्यालयमा भने कोरोना कहरको समयमा समेत नियमित पठनपाठन जारी थियो ।