बाग्मती

ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

भरतपुर, १७ चैत । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।

दुराले चलाएको बसले शनिबार साँझ ना४०प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको मृतकका आफन्त दीपक दबाडीले जानकारी दिएका छन् । उनले भने, “यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्त्येष्टिमा ढिलाइ भएको हो । भरतपुर अस्पतालमा शव परीक्षण गरेर अन्त्येष्टिका लागि लगिएको हो ।”

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उहाँकी छोरी १७ वर्षीया विनिशा अधिकारी र उनको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी रहेका छन् ।

जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नंको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोहनसहित स्कुटरको पछाडि सवार दुई छोरीको मृत्यु भएको थियो । बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।