समाचार

बहावाला र भूपूसैनिकले प्राप्त गर्दै आएका सेवा-सुविधाका नालीबेली

१७ चैत्र, काठमाडौं । सरकारी सेवामा प्रवेश गरेपछि पाइने तलब, दुर्गम प्रोत्साहन, पोशाक र निवृत्तिभरणसहित नेपाली सेनाले बहालवाला, भूपूसैनिक र एकल महिलालाई अरु धेरै कल्याणकारी सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । सैनिक कल्याणकारी कोषमार्फत सेनाले आफ्ना हिताधिकारीलाई थप विभिन्न सेवा–सुविधा उपलब्ध गराएको हो ।

सेवामा नियुक्त गरेकै मितिबाट प्राप्त हुने तलब भत्ता, रासन, क्लोदिङ सामान, बासस्थान, स्थानीय भत्ता, काम विशेषले खटिँदा प्राप्त हुने दैनिक तथा भ्रमण भत्ता, उमेर वा पदावधिको हदले उपलब्ध हुने सेवानिवृत्त तथा पारिवारिक निवृत्तिभरण र कर्तव्य पालनाका सिलसिलामा घाइते भएकालाई अशक्त वृत्तिलगायतका सेवा, सुविधा भने सरकारी ढुकुटीबाट उपलब्ध हुँदै आएको छ ।

औषधोपचार, उपदान, बीमा, आवास, नागरिक लगानी कोष र नागरिक कल्याणकारी कोषको सिफारिसपत्र सैनिक अभिलेख कोषबाट तयार गरी हिताधिकारीलाई सहजता प्रदान गरिएको छ । सैनिक कल्याणकारी कोषको रकम बहालवाला र अवकासप्राप्तको योगदान, मूलपूँजीबाट आर्जित ब्याज र लगानीबाट प्राप्त प्रतिफल हो ।

विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख नगद राशिबाट स्थापना गरिएको उक्त कोषको कूल सम्पत्ति हाल रु ५८ अर्बभन्दा बढी पुगेको छ । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोषको रकम हो ।

सैनिक व्यक्ति कर्तव्यपालनका सिलसिलामा मृत्यु वा अशक्त भएमा निजका बढीमा दुई सन्तानलाई सन्तति तथा शैक्षिकवृत्ति र सैनिक व्यक्ति हराई बेपत्ता भई दुई वर्षसम्म मरेबाँचेको पत्ता नलागेमा हकवालालाई निवृत्तिभरण र उपदान उपलब्ध हुनेछ ।

सेनाले सेवाअवधि पूरा भए पनि भगौडा वा गयल खाली भई सैनिक अदालतबाट बर्खास्ती खाली भएकालाई पनि भगौडा निवृत्ति उपलब्ध गराउँदै आएको छ । सेना मुुलुकको प्रमुख सुरक्षा अङ्ग हो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको इतिहाससँग सेनाको योगदान जोडिएको छ ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित सेवा–सुविधा समयानूकूल बढोत्तरी भइरहेको तथा कल्याणकारी सेवा सुविधामा बढाउने उद्देश्यले कोषको पहुँच र प्रभावकारिता बढाउन स्पष्ट नीति तर्जुमा गरी लागू गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।

शान्ति सेना छनोट, विकास र पेशासम्बन्धी सीपमूलक तालिमअन्तर्गत स्वदेश र विदेश भ्रमण, अमेरिका, बेलायत, चीन, भारतलगायतका मुलुकमा सैनिक सहचारीको जिम्मेवारी, बहालवाला, भूपूसैनिक र एकल महिलालाई लक्षित सीपमूलक तालिम पनि सेवा सुविधाकै एउटा पाटो हो । विभिन्न प्रतियोगिता र निरीक्षणमा उत्कृष्ट कार्य गर्ने सकल दर्जालाई सेनाले पदक, विभूषण, अलङ्कार, बढुवाका साथै शान्ति सेनामा प्राथमिकता दिँदै आएको छ ।

सेनाले कोषमार्फत बहालवाला, भूपूसैनिक र एकल महिलाको आर्थिक अवस्थामा सुधार ल्याउने हेतुले शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार र सुविधालाई प्राथमिकतामा राखेको छ । शिशु तथा सुत्केरी स्याहारका लागि सङ्गठनबाट रु पाँच हजार तथा कर्मचारी सञ्चयकोषबाट रु सात हजार ५०० उपलब्ध गराउँदै आएको छ । कोषको उचित प्रयोग, मितव्ययिता र पारदर्शितालाई ध्यान दिँदै सुविधालाई विकेन्द्रित, पारदर्शी एवं परिणामुखी तुल्याउँदै लगिएको बताइएको छ ।

द्वन्द्वमा अपङ्गता भएका सकल दर्जालाई सेवा निवृत्तिपछि सहयोगी भत्तावापत मासिक रु १० हजार प्रदानका साथै बहालवाला, भूपूसैनिकका पति पत्नीका लागि अधिकतम रु १० लाखसम्मको स्वास्थ्य बीमा सैनिक कल्याणकारी कोषबाट गरिएको छ ।

सैनिक र आश्रित परिवारलाई सुरक्षित भविष्यतर्फ अग्रसर गराउन शिक्षा स्वास्थ्य, सीप तथा स्वरोजगार तथा सुविधामा जोड दिँदै आएको बताउँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले भन्नुभयो, “भूपूसैनिकलाई प्रोत्साहन गर्न, कमजोर आर्थिक स्थिति र सामाजिक अवस्थाबाट जीवनस्तर उकासी समाजमा सम्मानजनक जीवनयापन गर्न सकुन् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

दर्जाअनुसारको कोटा निर्धारण गरी सेनाका छोराछोरीलाई एकदेखि १२ कक्षासम्म छात्रवृत्तिसहित अध्ययन सहुलियत, विज्ञान र व्यवस्थापन सङ्कायमा स्नातक तहसम्म ८० प्रतिशतसम्म छात्रवृत्ति, चिकित्साशास्त्रतर्फ एमबिबीएसमा १५ जनालाई आमाबाबुको सैनिक सेवामा दर्जानुसारको छात्रवृत्ति प्रदान गरिँदै आएको सैनिक कल्याणकारी कोषले जनाएको छ । बहालवाला तथा भूपूसैनिकका जेहेन्दार छोराछोरीलाई छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था पनि सेनाले मिलाएको छ ।

नर्सिङ र पोलिटेक्निकतर्फ पनि छोराछोरीलाई छात्रवृत्तिसहितको अध्ययन सुविधा तथा सैनिक विद्यालयमा पढ्न नपाएका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने सन्ततिलाई वार्षिक रु २० हजारको कल्याणकारी छात्रवृत्ति सेनाले प्रदान गर्दै आएको छ । उक्त कोषबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने बहालवालाका अतिरिक्त भूपूसैनिक र एकल महिलाको सङ्ख्या ८६ हजार छ ।

सैनिक सेवामा जोडिएका व्यक्तिका टुहुरालाई आवासीय सुविधासहित १२ कक्षासम्म निःशुल्क अध्ययन, सैनिक विद्यालयमा अवसर नपाएका वीरगति प्राप्तका सन्तानलाई वार्षिक रु २० हजार रकम पनि सैनिक कल्याणकारी कोषले उपलब्ध गराउँदै आएको छ । सैनिक विद्यालयमा अध्ययन मौका नपाएका एक दम्पत्तिका एक सन्तानलाई अन्य सूचीकृत विद्यालयमा पढ्न तथा अवकासप्राप्त सैनिक एवं परिवारिक निवृत्तिभरणमा रहेका पतिपत्नीलाई उमेरका आधारमा वार्षिक न्यूनतम रु पाँच हजारदेखि रु एक लाख २० हजारसम्म कल्याणकारी निवृत्तिभरणको व्यवस्था छ ।

मासिक रु ४०० का दरले अवकास हुँदा साँवाब्याज भुक्तानी पाउने गरी परिवार आवास तथा बीमा सहुलियत, व्यवसाय सञ्चालनका लागि वार्षिक ४।५ प्रतिशतको ब्याजदरमा एक देखि १० लाखसम्म लघुवित्त सहुलियत कर्जा, वार्षिक पाँच प्रतिशत ब्याजमा अधिकृतलाई रु पाँच लाख, पदिकलाई रु तीन लाख र अन्य दर्जालाई रु दुई लाखसम्म सहुलियत कर्जाको समन्वय र व्यवस्थापन पनि सैनिक कल्याणकारी कोषले गर्दै आएको छ ।

बहालवाला, भूतपूर्व सैनिक र एकल महिलाको हितका खातिर उनका छोराछोरी पढाउने सन्दर्भमा प्राविधिक विषयमा स्नातक वा स्नाकोत्तर तहका लागि वार्षिक पाँच प्रतिशत ब्याजदरमा धितो नराख्दा रु पाँच लाख तथा धितो राखेमा रु २५ लाखको शैक्षिक कर्जा पनि उपलब्ध गराउँदै आएको छ ।

बहालवाला तथा भूपू सैनिकको परिवारलाई लक्षित गरी वार्षिक ५।५ प्रतिशत ब्याजदरमा रु १५ लाख सवारी साधन कर्जा, सम्पत्ति क्षतिका आधारमा रु ५० हजारसम्म दैवी प्रकोप राहत, सम्पत्ति क्षतिका आधारमा रु छ हजार २५० देखि रु ६२ हजार ५०० अतिरथि नीरदैवी उद्धार अक्षयकोषको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

सेनाले १८ वर्ष ननाघेका फरक क्षमता भएका सन्तानलाई रु सात हजार ५०० देखि ५० हजार बाल अक्षयकोष तथा सम्पत्तिसम्बन्धी मुद्दाको बहस पैरवीमा पनि कल्याणकारी कोषले रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।

सेनाले वीरगति प्राप्त सैनिकका एक छोरीको विवाहमा रु ५० हजार अनुदान, सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा अधिकतम रु एक लाखको दुर्घटना बीमा, भेट्रान्स होम्स सुविधा, हिताधिकारी श्रीमान् र श्रीमतीको मृत्यु भएमा रु २५ हजार किरियाकर्म अनुदान, बिरामी कुरुवा खर्च, एम्बुलेन्स सुविधा तथा किरियापुत्री घरको सुविधा दिएको छ ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषले अघि सारेका कार्यक्रममा हिताधिकारीको घरदैलोसम्म विस्तार गर्न र समयानुकूल तुल्याउन सेनाले भगीरथ प्रयास गरिरहेको बताए । सेनाले पछिल्ला वर्षमा कार्यक्षेत्रभित्रका ज्येष्ठ नागरिक, सेनामा चारभन्दा बढी सन्तान भर्ना गर्न प्रेरित गर्ने परिवार र लघुवित्तका उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

कोषले सेवारत सैनिकलाई हितका लागि पारिवारिक आवास सुविधा, गेष्टहाउस तथा ट्रान्जिट क्याम्प, व्यावसायिक तालिम इन्स्टिच्युट, व्यावसायिक तालिम केन्द्र, व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रसमेतको व्यवस्थापन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा सैनिक कल्याणकारी कोषले चार प्रतिशत सहुलियत ब्याजमा २१ देखि ४५ वर्ष उमेर समूहलाई ‘युवा कृषि कर्जा’ शीर्षकमा रु एक करोडसम्म कृषि ऋण उपलब्ध गराउँदै आएको छ ।