बाग्मती

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ

तानसेन, १६ चैत । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

तिनाउ गाउँपालिका-३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका-९ राउतडाँडाका २५ वर्षीय सुमन गाहाको शरीर खानतलासी गर्दा फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान बरामद गरी गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ ।

तानसेन नगरपालिका–१ चिलाङ्दीबाट तानसेन जाँदै गरेको लु २ त ८६१६ नंको ट्र्याक्टर जाँचका क्रममा बिनाकागज प्रमाण ३५ दशमलव १० क्युफिट सालको काठ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

काठसँगै चालकसहित चार जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीसमेत रहे त्वातीले बताए ।