समाचार

मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

१५ चैत, काठमाडौं । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।

समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो । कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समय समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरु समेत जोखिमपूर्णरुपमा वारपार गर्न बाध्य भएका छन् ।

पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारीसाधन र यात्रु जोखिममा परेका छन् । पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जिर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ ।

पुलको नियमितरुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए। उनले भने, “पुलमा जुनसुकैबेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।

पुलबाट पाँच स्थानीय तहका ४५ भन्दाबढी वडामा सवारीसाधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भएपनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूलाठूला डोजर लोडर जस्ता उपकरणहरु यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिले पुल मर्मतका लागि कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधकार विकास कार्यालयले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको जनाएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता बोल्डिङ गरेर जोड्नेबाहेक अरु योजना नरहेको सो कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । पुल मर्मतका लागि लागत तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनको भनाइ छ । स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलका रुपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो ।