कृषि

मार्सी धानको खेती शुरु

१३ चैत, खलङ्गा । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए ।

उनले भने, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ ।” विश्वकै उच्च स्थानमा उत्पादन हुने कालिमार्सी जिल्लाको पातारासी गाउँपालिकास्थित छुम चौरज्युलोमा सबैभन्दा बढी खेती हुने गरेको स्थानीयवासी पाण्डेले बताए ।

हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ । चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने गरेको चन्दननाथ नगरपालिका–१० का स्थानीयवासी विष्णु भण्डारीले बताए ।

तिला गाउँपालिका–१ स्थानीयवासी माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । घरका सबै दिदिबहिनी एक आपसमा चिउरा कुट्ने चलन छ । यो चलन विस्तारै लोप हुँदै गरेको स्थानीयवासी रावतले बताए ।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले जानकारी दिए ।

खेतीको विधि

जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ । सो धान पाक्न सात महिना लाग्छ । चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ । त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइँ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ । असारदेखि मध्ये साउनसम्म गोडमेल गर्नुपर्छ ।

भदौमा झारजङ्गल काट्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बचाए । नेपालमा असार १५ गते धान दिवस मनाउने गरिएता पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ ।