कृषि

चैते धान रोप्न चटारो

८ चैत, भजनी , कैलालीको भजनी नगरपालिका– ३ का खडक साउद यतिबेला खेतमा व्यस्त छन् । चैते धान रोप्ने चटारोले खडकको परिवार सबै खेतमै छन् । उनले भजनीका अधिकांश किसान अहिले धान रोप्ने चटारोमा रहेको बताए ।

“गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट ग¥यो । धेरै किसानले वर्षे धान भित्र्याउन पाएनन”, खडकले भने, “यस वर्ष सबै किसान चैते धानको पछाडि लागेका छन् । उत्पादन राम्रो, डुबान र बगानको समस्या पनि नहुने समयमै धान भित्र्याउन पाउने भएकै कारण किसानको आकर्षण बढ्दै गएको हो ।”

भजनी – ७ चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन् । उनले हरेक वर्ष करीब एक बिघा जग्गामा चैते धान रोप्दै आएको छ । उनको पाँच जनाको परिवारलाई त्यही खेतमा फलेको चैते धान वर्षभरिका लागि खान पुग्छ । “यस क्षेत्रमा वर्षे खेती हुँदैन । हिउँदमा दुई खेती गर्ने गरेका छौँ”, मनिरामले भने, “दलहन र तेलहन बाली भित्र्याएपछि धानखेती हुन्छ भने हाम्रा लागि वर्षात्को समयमा फुर्सद हुन्छ ।”

मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन् । जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धानखेती गर्दै आउनुभएको छ । भजनी क्षेत्रमा वर्षे धानको उत्पादन त्यति राम्रो हुँदैन । त्यसैमा पनि बाढीका कारण लगाएको खेती पनि किसानले भित्र्याउन पाउँदैनन् । चैते धानकै कारण किसानले भात खान पाएको उहाँहरुको भनाइ छ ।

चैते धानखेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ । उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरोलगायतका बाली फलाउँछन् । कतिपय किसानले दोहोरो धानखेतीसमेत गर्ने गरेका छन् । बाढी प्रभावितबाहेकका क्षेत्रका किसानले दोहोरो धानखेती गर्ने गरेको पाइन्छ ।

जानकी गाउँपालिका– ७ मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुईपटक धान रोपे । उनका अनुसार एकपटकको धानखेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धानखेतीको उत्पादन बेच्ने गरे । उनले पनि वर्षेनी एक बिघा क्षेत्रफलमा धानखेती गर्ने गरेको बताएको छ ।

“चैते धानखेती थप आम्दानीको स्रोत बनेको छ । केही वर्ष सिँचाइको समस्याले धान रोपाइ हुन सकेको थिएन”, उनले भने, “रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कुलामा पानी छोड्न थालेपछि पुनःचैते धानको रोपाइँ शुरु भएको हो । यसले मेरो आर्थिक अवस्थामा सुधार भइरहेको छ ।”

खासगरी बाढी प्रभावित क्षेत्रका किसान चैते धान रोप्ने गरेका छन् । उनीहरु वर्षायाममा धानखेती रोप्न पाउँदैनन् । उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धानखेती रोप्न समस्या हुने गरेको छ । “हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु ? रोपेको धान पनि खेतमै सखाप हुन्छ ।” भजनी नगरपालिका– ३ कुसुमघाटका विजय साउदले भने, “चैते धान नै परिवार पाल्ने स्रोत बनेको छ । चैते धान रोपेन भने भोकै बस्नुपर्छ । किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ । थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसान बताउँछन् । “चैते धान रोप्न सहज छैन । हरेक कुराको ख्याल गर्नुपर्छ ।” किसान साउँदले भने, “समयमै रोपेर समयमै भित्र्याउन नसके धान बिग्रन थाल्छ भने उत्पादनमा समेत ह्रास आउँछ ।”

चैते धानखेतीका लागि किसानले सिँचाइ र रासायनिक मलकोसमेत समस्या भोग्दै आएका छन । उनीहरुले बोरिङ मोटरका माध्यमबाट सिँचाइ गर्दै आएका छन् भने रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्ने बाध्यता छ । उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ ।

चैते धानको खेतीमा खर्च भने बढी हुने गरेको किसान बताउँछन् । “सिँचाइको सहज सुविधा हँुदैन । बोरिङ मोटरबाट सिँचाइ गर्दा खर्च बढ्ने गरेको छ ।” भजनी नगरपालिका–८ का किसान समीर चौधरीले भने, “खेती नगरे पनि खान चाहिन्छ, गराँै भने पनि खर्च बढी छ ।” उनले समयमै भित्र्याउन नसके वर्षात्का समयमा धान खेतमै रहने बताउँदै छिटै वर्षायाम शुरु भए पनि धान भित्र्याउन समस्या हुने गरेको बताए ।

कृषि ज्ञानकेन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले गत वर्षको तुलनामा यस वर्ष चैते धान रोपाइँको क्षेत्रफल बढ्ने जानकारी दिनुभयो । “गत वर्ष करीब एक हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो । यस वर्ष दुई हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदैछ”, उनले भने, “हामीले पनि भजनी क्षेत्रमा निःशुल्क ६० देखि ७० मेट्रिकटन धानको बीउ वितरण गरेका छौँ । बाढीपीडित क्षेत्रमा चैते धानको खेती वर्षेनी थपिँदै गएको छ ।”

उनले वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने भएका कारण किसान बढी आकर्षित हुने गरेको बताइँदै धानका लागि अहिलेको मौसम उत्तम भएको बताएका छन् । “आकाश खुला हुँदा प्रकाशको किरण पाउँछ । रोग र किराको सङ्क्रमण हुन पाउँदैन”, उनले भने, “मौसमकै कारण धान उत्पादनमा राम्रो हुने गरेको हो । उत्पादन बढी हुने भएकाले पनि चैते धानमा आकर्षण बढेको हो ।”