कृषि

६५ घरधुरी मिलेर टिमुरखेती

७ चैत, तनहुँ । आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् ।

थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए ।

शुरुमा २५ जना मिलेर समूह गठन गरेर टिमुरखेतीको शुरुआत गरिएको थियो तर अहिले यस खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ । तीन/चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन् । डिभिजन वन कार्यालयको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन् ।

उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुरखेती गरको छ । अध्यक्ष गुरुङले भने, “सबै घरधुरीले कम्तीमा दुई सय/तीन सय बिरुवा लगाएका छन् ।” टिमुरखेती नेपालका पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुरखेतीका लागि उत्तम स्थल मानिन्छ ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । उनीहरुले लगाएको यो दोस्रो वर्ष लागेको छ । रुखो जग्गा जमीन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मेहनत गर्नु नपर्ने तथा थोरै लगानीमा पनि गर्न सकिने भएपछि स्थानीयवासीले अभियानकैरुपमा टिमुरखेती थालेका छन् ।

स्थानीय जीतबहादुर गुरुङले मात्रै एक हजार ५०० टिमुरका बिरुवा लगाएका छन् । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उनले जानकारी दिए। टिमुरका बिरुवा बाहिर किन्दा रु १०० देखि रु १५० सम्म पर्ने भए पनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा रु ४० परेकाले शुपथ मूल्यमा पाएको उक्त कृषक समूहले जनाएको छ ।

बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरी बिरुवा खरीद गरेर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दासमेत टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।