खेलकुद

शहीद स्मारक ‘सी’ डिभिजन लिगः चर्च ब्वाइज विजयी

 ४ चैत, काठमाडौँ / शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन एक गोलअन्तरले पराजित गरेको हो । खेलको ५१औँ मिनेटमा चर्च ब्वाइजका लागि सोम थापाले पहिलो गोल गरेका थिए । खेलको ५५औँ मिनेटमा प्लानिङ ब्वाइजका कृष्ण गिरीले गोल गर्दै एक-एक गोलको अवस्थामा पु¥याए ।
यस्तै खेलको ८९औँ मिनेटमा साइमन लिम्बुले पेनाल्टीमार्फत चर्च ब्वाइजका लागि दोस्रो गोल गरे । यस्तै खेलको इन्जुरी समयमा चर्च ब्वाइजका लागि इन्द्रजङ लिम्बुले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पु¥याए ।
जीतसँगै समूह बी मा रहेको चर्च ब्वाइजले दुई खेलमा ६ अङ्क जोडेर सो समूहको शीर्ष स्थानमा रहेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।