पत्रपत्रिका

२७ वर्षकी युवती बलात्कारको आरोपमा ९४ वर्षका बृद्ध पक्राउ

चैत्र ४, स्याङ्जा । ९४ वर्षका वृद्ध भन्नासाथ आफन्त वा लट्ठीको सहारामा हिँडडुल गर्ने, ओछ्यानमा सुतिरहने भनेर अनुमान गरिन्छ  । तर यहाँका ९४ वर्षीय एक वृद्ध भने बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्  ।

सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हुन् । उनी जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ  ।

युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन ।

घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो  । अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, हरिनास गाउँपालिकाकी साढे १२ वर्षीया बालिका गर्भवती भएको ६ महिनापछि आफन्तबाटै बलात्कृत भएको खुलेको छ  । ८ कक्षामा अध्ययनरत ती बालिका गाउँकै ३३ वर्षीय भेलबहादुर थापाबाट कात्तिक १२ गते साँझ बलात्कृत भएको प्रहरीले जनाएको छ  । पीडित बालिकाले आफू गर्भवती भएको अहिले मात्रै थाहा पाएको बताइन  ।

विद्यालयबाट फर्किने क्रममा उनी बलात्कृत भएको पीडितकी आमाले बताइन  । बलात्कार आरोपित थापालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । एसपी बोगटीका अनुसार थापालाई आइतबारै मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरिएको छ । पीडित बालिकालाई अहिले प्रहरीकै संरक्षणमा स्याङ्जाकै एक होटलमा राखिएको छ ।

बालिकालाई जिल्ला अस्पतालमा उपचार गराएपछि थप उपचारका लागि सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको उनले बताए । ‘बालिकाको पारिवारिक अवस्था पनि नाजुक रहेछ । सबैसँग खर्च जुटाएर उनको हेरचाह गर्ने, अस्पताल लाने, ल्याउने र बस्ने, खाने व्यवस्था मिलाएका छौं,’ एसपी बोगटीले भने ।

थापाले आफ्नै घरमा लगेर बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ । घटना गाउँमै मिलाउने प्रयास भएको प्रहरीलाई सूचना आएपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको गर्भपतन गराउने कि जन्माउन दिनेबारे चिकित्सकसँग परामर्श भइरहेको प्रहरीले जनाएको छ । यस्तै, विद्यालयबाट घर फर्किंदै गरेका वालिङकै ८ र ९ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा वालिङकै १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

                                                                                                                                                                                                                कान्तिपुरबाट लिएको