पत्रपत्रिका

सरकारमा गएका सात मन्त्रीलाई तत्काल राजीनामा दिन माओवादी केन्द्रको निर्देशन

३ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको छ । एकजनाबाहेक अरू मन्त्रीले पार्टीले पठाएको पत्र बुझेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवालय र प्रधानमन्त्रीको कार्यालयलाई उक्त पत्र पठाएको छ । ढकालका अनुसार सबै मन्त्रीले आ–आफ्नो सचिवालयमार्फत पत्र बुझेका थिए । तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्न मानेनन् । उनको सचिवालयले नै पत्र बुझ्न नमानेपछि हुलाकमार्फत उक्त पत्र पठाइएको ढकालले जानकारी दिए ।

माओवादी केन्द्रका तर्फबाट हाल सरकारमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री लामा रहेका छन् । मन्त्रीहरूले भने यसअघि नै यस्ता पत्रको कुनै औचित्य नरहने बताएका थिए ।

पत्रमा पार्टीका तर्फबाट सरकारमा रहेकाले तुरुन्तै राजीनामा दिन निर्देशन दिइएको छ  । साथै, एमालेको संगठनमा राखिएको भन्ने विषयमा आफ्नो स्थिति के हो भनेर प्रस्ट पार्न निर्देशन दिइएको छ । माओवादी केन्द्रको २९ फागुनमा बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई फिर्ता हुने निर्देशनसहित २४ घन्टे पत्र काट्ने निर्णय गरेको थियो  ।

आइतबार र सोमबार दुई दिन बसेर स्थगित भएको पार्टी केन्द्रीय समितिको बैठकले उक्त निर्णय अनुमोदन गरेपछि आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई माओवादी केन्द्रले चिठी लेखेको हो । नेकपा एमालेको ओली पक्षले २८ फागुनमा बसेको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीमा रहेका २३ जनालाई मनोनीत गरेपछि त्यसको भोलिपल्ट माओवादी केन्द्रले उक्त निर्णय लिएको थियो  ।

त्यसैबीच दुई दिन बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ  । सोमबारको बैठकमा पार्टी केन्द्रीय समितिका २० जनाले धारणा राखेका थिए  ।

जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदीप आचार्य, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, पर्शुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, पर्शुराम तामाङ, डिलाराम आचार्य, ओम शर्मा, कुमार पौडेल र रामचन्द्र झाले बैठकमा आफ्नो धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए  ।

उनले बैठकले सर्वोच्च अदालतले पार्टी आधिकारिकताका विषयमा दिएको पछिल्लो आदेश पुनरावलोकन गर्न माग गर्ने निर्णय गरेको बताए  । साथै, विशेष गरी संसद्मा रहेका अरू मुख्य दुई राजनीतिक दल कांग्रेस र जसपासँग वार्ताको प्रक्रियालाई तीव्र बनाउने निर्णयसहित बैठक स्थगित गरिएको श्रेष्ठको भनाइ थियो  ।

                                                                                  नयाँ पत्रिकाबाट लिएको