अन्तर्राष्ट्रिय

सिरियाका राष्ट्रपति दम्पती कोरोनाभाइरस सङ्क्रमित

२४ फागुन, दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असद र उहाँकी श्रीमती अस्मा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उहाँहरूमा कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो ।

उहाँहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।

“सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उहाँहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

सिरियामा कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।