सुदूरपश्चिम

सोच परिवर्तन गर्न आवश्यक छः मुख्यमन्त्री भट्ट

२४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा न्यूनीकरणका लागि सबैले आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा उनले महिलाप्रतिको चिन्तन रूपान्तरण हुनुपर्ने बताए । महिलामाथि विभिन्न हिंसा हुनु कानूनको अभावले नभएको बताउँदै उनले भने, “महिला र पुरुषको समान अधिकार र समान दायित्व हुन आवश्यक छ ।”

उनले राज्य व्यवस्था परिवर्तनका लागि होस् वा अधिकार प्राप्तिका लागि होस्, जुनसुकै आन्दोलनमा नेपाली महिलाको विशिष्ट भूमिका रहेको बताए । महिलाले निर्वाह गरेको भूमिकाको सबैले सम्मान गर्नुपर्ने र उनीहरूको सपनालाई सकार पार्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो । त्यसका लागि सबै एकबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

महिलाका लागि बनाइएका कानूनको प्रभावकारी कार्यान्वयनको दायित्व सबैको भएकाले कानूनले महिलालाई दिएको अधिकार सुनिश्चित गर्न आवश्यक उनको भनाइ थियो । उनले छाउपडी प्रथा, घरेलु हिंसा, सामाजिक हिंसा रोक्नका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । महिला हिंसासम्बन्धी घटना देशैभरि घटे पनि केही त्यस्ता प्रतिनिधि घटनाका कारण सुदूरपश्चिम प्रदेशमा महिला हिंसासम्बन्धी घटना अलि बढी घटेको देखिएको मुख्यमन्त्रीको भनाइ थियो । उनले प्रदेशमा महिला हिंसासम्बन्धी घटना न्यूनीकरणका लागि कानून र योजना बनाउने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।