अन्तर्राष्ट्रिय

इजरायलद्वारा महामारीका कारण बन्द रेष्टुरेन्ट र बारहरू पुनः खोलिने

२४ फागुन, एजेन्सी । कोरोना महामारीका कारण बन्द भएका व्यवसाय पुनः खोल्ने क्रममा इजरायलले आइतबारदेखि रेष्टुरेन्ट तथा बारहरूलाई खोल्न दिने इजरायली सरकारले निर्णय गरेको छ ।

सरकारले रेष्टुरेन्ट, क्याफे तथा बारहरूमा काम गर्ने खोप लगाइसकेका व्यवसायी तथा तीनका कर्मचारीहरूलाई सेवालाई पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको जनाएको हो । इजरायलमा गत वर्षकाहे डिसेम्बरदेखि खोप अभियान सञ्चालनमा ल्याइएको थियो ।

आइतबारसम्म करिब ४० प्रतिशत नागरिकले कोभिड-१९ विरूद्धको खोपको दुबै मात्रा लिइसकेका छन् । करिब ९० लाख जनसङ्ख्या रहेको इजरायलमा फाइजर र बायोएनटेकद्वारा उत्पादित खोपको दुबै मात्रा लगाउनेको सङ्ख्या ३७ लाख पुगिसकेको छ ।

इजरायलमा कम्तीमा ५० लाख नागरिकले कोभिड-१९ विरूद्धको पहिलो मात्रा लगाइसकेका छन् । सरकारले बन्द अवस्थामा रहेका व्यवसायलाई खोल्ने नीति अन्तर्गत क्रमशः सबै क्षेत्रलाई महामारी पहिलेको अवस्थामा फर्काउन लागिएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताए ।

“हामीले करिब ४० प्रतिशत नागरिकलाई खोप दिइसकेका छौँ । अब हामी सामान्य अवस्थामा फर्किनका लागि समस्या नहुने विज्ञहरूको सुझाबपछि बन्द रहेका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन समस्या हुने छैन ।”

रेष्टुरेन्ट तथा बार खोलेको सन्देश दिन प्रधानमन्त्रीद्वारा एक क्याफेमा केक काटिएको र यसलाई त्यहाँ भेला भएका व्यक्तिहरूले खाएको इजरायली टेलिभिजनहरूले प्रमुख समाचार बनाएर समाचार सम्प्रेषण तथा प्रशारण गरेका थिए । इजरायलले यसअघि नै जिम, पुल तथा अन्य सेवाहरूलाई पनि सञ्चालनमा ल्याइसकेको छ ।