पु.समाचार

दाहाल–नेपाल समूहले सोमबारलाइ बाेलाए स्थायी कमिटी बैठक

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ ।
सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो ।

प्रवक्ता श्रेष्ठले भनेका छन्, सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ ।
अहिलेलाई यति भनिहालौँ ;
एक ,यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध ( कमन सेन्स ) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।
यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन ।रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुनेथियो ।तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ ।तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।
दुई , नेपालको राष्ट्रिय सार्वभौमिकता ,नेपाली जनतामा नीहित सार्वभौमसत्ता , नेपाली जनताको आत्मनिर्णयको अधिकार ,संविधान ,लोकतन्त्र ,राजनीतिक स्थिरता ,कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो ,” अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।”