राजनीति

नेकपा ऋषि कट्टेलका पक्षमा रहेको सर्बोच्चको फैसला, एमाले र माओबादी केन्द्र ब्युंतिए

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो ।

रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गर्नुभएकामा सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी)बीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा निर्वाचन आयोगमा दल दर्ता भएकोविरुद्ध निवेदन दायर गरेका थिए ।

अध्यक्ष कट्टेलले आयोगमा त्यसविरुद्ध उजूरी दिए पनि ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते अदालतमा रिट निवेदन दायर गरेका थिए ।
यससंगसँगै नेकपा एमाले र माओबादी केन्द्र ब्युँतिएको राजनीतिबृतमा चर्चा चलिरहेको छ ।