प्रदेश 2

मौलापुरमा मधानी महायज्ञः मुुआब्जा दिएर जग्गा उपलब्ध

२२ फागुन, रौतहट / रौतहटको मौलापुर नगरपालिकामा आयोजना हुन लागेको मधानी महायज्ञका लागि मुुआब्जा दिएर आवश्यक जग्गा लिएको बताइएको छ ।
नेपाल सरकारले घोषणा गरेको पर्यटकीय गन्तव्यमध्येको एक मौलापुर नगरपालिका–५ पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने सो महायज्ञका लागि मुुआब्जा दिएर आवश्यक जग्गा लिँदा समेत केही मिडियाले सहरी विकासमन्त्री प्रभुु साहलाइै जोडर गलत समाचार सम्प्रेशण गरेकोमा ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको छ ।
यस पटकको मधानी महायज्ञको तयारीका क्रममा स्थानीयवासीसँग सल्लाह गरी आवश्यक पर्ने २५ कठ्ठा जग्गा मुुआब्जा दिएर लिएको नगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख रिनाकुमारी साहले स्थानीयवासीलाई प्रतिकठ्ठा गहुँवालीको दुई हजार ५००, प्याजको तीन हजार र मुसुरोवालीको एक हजार ५०० मुुआब्जा दिएको स्पष्ट पारे । मौलापुरमा दोस्रोपटक हुन लागेको धार्मिक मधानी महायज्ञको लागि व्यवस्थापकीय, भौतिक तयारीका कामहरु अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।
विकास विरोधीको दुुष्प्रयास र षड्यन्त्रलाई स्थानीयवासीको त्याग, समर्पन, उत्साहपूर्ण एकता र सक्रिय सहभागिताले निस्तेज पारेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञको उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । आगामी फागुन २७ गते पर्ने महाशिवरात्रि पर्वको अवसरमा उपप्रधानमन्त्री पोखरेलले मधानी महायज्ञको उद्घाटन गर्नुुहुने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्विक महादेव मन्दिरमा विशेष विधिबाट भगवान् शिवको पूजा अनुष्ठान गरिने प्रमुख साहको भनाइ छ ।
पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिवमन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विज्ञहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको शुरुआत गरिएको थियो । पर्यटकीय सम्भव्यताले भरिपूर्ण मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्यापक प्रचारप्रसार गर्न पर्यटन वर्ष सन् २०२० लाई सहयोग पुुग्ने गरी गत वर्ष यस महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भएको थियो । गतवर्षकै निरन्तरता स्वरुप यस वर्ष पनि महायज्ञ विशेष समारोह आयोजना गरिएको मौलापुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबुु साहले जानकारी दिए ।
कर्णाटककालभन्दा पहिलेको अवषेशहरु भेटिएपछि पुरातत्व विभागको टोलीले सो स्थानमा उत्खनन गरेको थियो । यही फागुन २७ देखि अगामी चैत ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतको कार्यक्रम रहेको छ । महायज्ञले यस क्षेत्रको विकास र पर्यटन प्रर्वद्धनमा उललेखनीय भूमिका निर्वाह गर्ने प्रमुख साहले बताए । सो महायज्ञमा नेपाल र छिमेकी मुलुक भारतका गरेर पाँच लाखभन्दा बढी श्रद्धालु भक्तजन दर्शन गर्न आउने लक्ष्य लिइएको छ । महायज्ञको व्यवस्थापनका लागि खानेपानी, विद्युत्, सरसफाइ, अस्थायी शौचालय निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि आवश्यक मात्रामा सीसीटीभी क्यामरासमेत जडान गरिने बताइएको छ ।