समाचार

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

वीरगञ्ज, २२ फागुन । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।

भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व-पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

बाराको सिम्रौनगढ नगरपालिका-९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका-१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका-१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका-७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालन रहेको भने बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका-१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका-१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका-५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका-५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका-२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ । ती जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको सो कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न केन्द्रको निर्देशनअनुसार प्रदेशभरी सिसिटिभी क्यामरा जडान गर्न लागिएको हो । कतिपय ठाउँमा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अन्य ठाउँमा जडान हुन् बाँकी रहेको छ ।