समाचार

आगामी तीन दिन देशभरको मौसम आंशिक तथा सामान्य बदली हुने

२२ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभरको मौसम आंशिक तथा सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज भने देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आज दिउसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति भने प्रदेश १, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आइतबार दिउसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी तथा हिमाली भूभागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति भने प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेशहरुको पहाडी तथा हिमाली भूभागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।