राजनीति

कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वकाे सरकारमा जाँदैनः महामन्त्री डा कोइराला

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताएका छन् । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताएका हुन् ।

“कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन”, उनले भने । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि सरकारमा जानुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा जान नहुने बताए ।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानले दिएको अधिकारअनुरुप नै कांग्रेस संसद्मा प्रस्तुत हुने बताए । कांग्रेस नेता दीपक खड्काले वर्तमान सरकारले लोकतन्त्र र संविधानलाई धरापमा पार्दै लगेको भन्दै यसको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, धनराज गुरुङ, एनपी साउदलगायतले नेकपाको आन्तरिक झगडाका कारण मुलुक सङ्कटमा परेको बताएका थिए । एशोसियशनका अध्यक्ष योगेन्द्र अधिकारीले कांग्रेसले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे पार्टीभित्र व्यापक छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए।