राजनीति

द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यकः वरिष्ठ नेता पौडेल

२१ फागुन, कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र बैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताएका छन्।

मानवअधिकार तथा शान्ति समाजको २३औँ राष्ट्रिय परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको पुनःस्थापनाबाट व्यवस्था, प्रणाली र बहुलबादमा आधारित लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली विघटनबाट बचेको उल्लेख गरे । नेता पौडेलले भने, “अहिलेको व्यवस्था विघटनबाट बचेको छ तर यो व्यवस्थालाई विकृति र विसङ्गतिबाट बचाउनु छ । यसलाई बचाउन नसके यस्ता अनिष्ट हाम्रो आकासमा मडारिहन्छन् ।”

उनले हाम्रो राजनीतिक भूमिका कहाँ उपयुक्त हुन्छ, त्यहाँ कुनै पूर्वाग्रह आग्रह नराखी पूरा गर्नुपर्दछ भन्ने आफ्नो पार्टीभित्र मत रहेको बताए । “प्रतिपक्षमा सानो भएपनि भूमिका ठूलो छ । प्रजातन्त्रका लागि निरन्तर लड्दै आएकाले लोकतान्त्रिक प्रणालीको प्रक्रियालाई आफ्नो स्वार्थका लागि विथोल्ने कार्य नगरौँ, स्वभाविक ढङ्गले अघि बढाउन सहयोग गरौँ ।”

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले लोकतन्त्रको रक्षा र नागरिक खबरदारीका लागि समाजका विभिन्न सङ्घ संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुइदिनसम्म सञ्चालन हुने समाजको राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।