कर्णाली प्रदेश

दुवै मिर्गौला फेल भएका युवकद्वारा सहयोगको याचना

२१ फागुन, जाजरकोट / दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका लागि याचना गरिरहेका छन् । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गरेका हुन् ।
अत्यन्त विपन्न परिवारका उनले अहिले काठमाडौँस्थित केएमसी अस्पतालमामा उपचार गराइरहेका छन् । उनको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ । गत पुसमा बिरामी परेका उनलाई उपचारका लागि काठमाडौँ लगिएको थियो । शिक्षण अस्पताल काठमाडौँले दुवै मिर्गौला फेल भएको पत्ता लगाएको थियो । काठमाडौँमै उपचार गराइरहेका उनलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मिर्गौला दिने तयारी गरे पनि अर्थाभावले मिर्गौला प्रत्यारोपण गर्न नसकिएको उनकी श्रीमती दिलमायाले बताए ।
“घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा, छोरी साना छन् । घरमा कमाइ गरिदिने कोही छैनन् । दैनिक छाक टार्नसमेत मुस्किल परिरहेको परिवारले मिर्गौला प्रत्यारोपण गर्न लाग्ने १०र१२ लाख कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ”, उनले भने, “म श्रीमान्लाई बचाउन चाहन्छु तर हामीसँग पैसा छैन । अहिलेसम्म ऋणसाहु गरेर बचायौँ । प्रत्येक हप्ता दुईपटक डायलासिस गर्ने र दुई महिनामा एकपटक रगत दिनु पर्दछ ।” ।