पु.समाचार

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२१ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ ।

बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले पूनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन ।

हिजो साँझ सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक नयाँ सरकार गठन र अविश्वासको प्रस्ताव बारेमा कुनै निर्णय नगरी टुंगिएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति देउवाले बैठक बोलाएका  थिए ।

बैठकमा प्रतिनिधिसभा पुनस्थापना पछि आइतबारबाट सुरु हुन लागेको संसदको अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले सरकार र चन्द नेतृत्वको विप्लव माओवादी बीच भएको समझदारीलाई सकारात्मक रुपमा लिएको बताईएको छ ।